कोरोनायुगका नेपाली जोक्सहरु !

प्रकाशित मिति: ५ आश्विन २०७७, सोमबार १२:५८

 

 


-संप्रस पौडेल, डिल्लिपुर, मकवानपुर

 

रक्सी !
रूसले मात्रै पत्तो लाउँछ र, हामीले पनि पत्तो लाइसक्यौँ कोरोनाको औषधी- रक्सी कोरोनाबाट जोगिने अचुक औषधी हो तर बाटै कब्जा गर्ने डोज पिएको छ भने मात्रै  ! किनभने, रक्सी धोकेको मान्छे पाँच मिटर परबाटै गन्हाउँछ । उसको वरीपरी अरू मानिसहरू जाँदैनन्,  भौतिक दूरी कायम हुन्छ र कोरोना सर्दैन 😂

पोजिटिभ/नेगेटिभ !
 तपाईँ हामीमा फिलिङ चैँ पोजिटिभ र कोरोना चैँ नेगेटिभ भैदियोस् 😂

यमराज अचेल !
“एक माघले जाडो जाँदैन,
बुझ्नेले कुरो किन खाँदैन,
यमराज नि घरभित्रै छ रे अचेल
घरमै बसे उसले नि लाँदैन ।” 😂

आधुनिक बुहारी !
सासु र नयाँ बुहारी: 😂
सासु:- ‘बुहारी भैँसीलाई घाँस हाल भनेको त बिर्सियौ कि क्या हो ?’
बुहारी: ‘हालिनँ नि आमा । भैँसी त भर्खर ब्रस गर्दै रहेछ ।’
—–
(भैँसी उग्राउँदै थियो ।)😂

 युट्युबरको तीज !
(पोहोर तीजमा श्रीमती माइत ग‌एकी एउटा युट्यूबर केटोको व्यथा)
केटो:- (भात पस्केपछि) आमा कृपया लाइक र सब्सक्राइब गर्न नबिर्सनुहोला ।

अनी डाडु र पन्यूँ झट्टी‌ सब्सक्राइब गरी ससुराली हिँडेको केटो फर्किएको छैन😂

होटल साहुको व्यथा !
“भाइ रेस्ट रूम कहाँ छ ?”
“यो त चर्पी हो ।”
“यसैलाई त रेस्ट रूम भन्छन् नि ।”
“रेस्ट गर्ने ठाउँ विदेशाँ होला । भित्र जाने हो नाक थुन्दै पेट निचर्ने, निस्कने हो । केका रेस्टरूम ।”
“ताल तालका मान्छे ।”😂

 मन्त्री जोक !
अन्तर्राष्ट्रिय भाषामा इदर‌उदरमै दिस एण्ड दोज छ हजुर,
दैनिकी राष्ट्रिय भाषामै उसलाई ज्यादा संकोच छ हजुर 😂

तरकारी व्यापारीसँगको वार्तालाप !
(“घिरौँलाले शाखा सन्तान पिरौँला” भैसक्यो ।)
म: (छतबाटै) ‘दाइ घिरौँला छ कि छैन ?’
व्यापारी: ‘छ हजुर कति केजी ?’
म: ‘यो एरियाबाट आफैँ जान्छौँ कि घिरौँलाको झालमा बाँधेर राखिदिउँ हँ ।’

त्यसपछि भागेको व्यापारी त्यतातिर आको हो त ?😂

दुइटा मनस्थितिहरू !
क: ‘मेरी पत्नी आफ्नो गल्ती केही गरे नि स्वीकारै गर्दिँन !’
ख: ‘मेरीचाहीँ मेरो सल्लाह अस्वीकार मात्रै गर्छे ।’
ग: ‘उसो भ‌ए साट्नोस् ।’
क र ख: (एकैचोटी) ‘श्रीमती ?’
ग: ‘होइन, दिमाग ।’😂

अन्त्यमा,
विषय:- आत्मविश्वास
हुन त रूघाखोकी सामान्य रोग नै हो । योभन्दा ठूला र खतरनाक रोगहरू विश्वभर व्याप्त छन् । हिसाब नै गर्ने हो भने करोडौँ मानिसहरूको मृत्यु अन्य विविध रोगले हुने गरेको छ ।

आजकल रूघाखोकीले ग्रस्त मानिसहरू हाम्रा छेउछाउमा रहेका हुन सक्छन् । तिनले र हामीले मास्क प्रयोग गरेनौँ भने सजिलै रूघाखोकी सर्न सक्छ । रूघाखोकीबाट विशेषत: वृध्दवृध्दा, बालबच्चा र दीर्घ रोगीहरूलाई रूघाखोकी हुनबाट जोगाउन जरूरी छ ।

रूखाखोकी क्रममा ज्वरो आउँन पनि सक्छ । घाँटी खसखसाउने, दुख्ने, जोर्नी दुख्ने, खानपिनमा मन नलाग्ने हुँदा प्रतिरक्षा शक्ती कम हुन सक्छ नै । यसैले रूघाखोकीबाट बच्ने र बचाउने एउटै उपाय प्रतिरक्षा प्रणाली तन्दुरूस्त राख्ने र नियमित (वैज्ञानिक रूपले) मास्क प्रयोग गर्नु नै हो ।

स्पष्टोक्ती:- ‘कोरोना’ शब्दको सट्टामा रूघाखोकी राखिएको छ । यस रोग बारे चिन्ता लिएर होइन, होशियार भ‌एर बाँचौँ, बचाऔँ ।
तपाईँ स-परिवारको स्वास्थ्य लाभको कामना गर्दछु ।
-संप्रस पौडेल, डिल्लिपुर, मकवानपुर
(फोटो: कान्तिपुर)
#जय_भैरव

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com