एक मृगौला पीडित प्रधानमन्त्रीलाई यसो भन्न चाहान्थे, भन्नै नपाई बिते !

प्रकाशित मिति: ७ मंसिर २०७७, आईतवार २०:५९

– केशवराज गजुरेल

यो एक सर्वसाधारणको कथा हो तर हजारौं जनताको प्रतिनिधिमुलक ब्यथा हो । युवराज केसी, एक स्वास्थ क्षेत्रमा काम गर्ने मृगौला रोगी, यही मंसीर १  बित्नु भयो । वहाँ प्रति भावपुर्ण श्रद्धाञ्जली एवं शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु !

अब कुरोको चुरोतिर जाऔँ । कुनै मृतक प्रति श्रद्धा प्रकट गर्दा भन्ने गरिन्छ  – बैकुण्ठमा वास होस्, अमरत्व प्राप्त गर्नुस् आदी ! तर, बैकुण्ठमा वास भएको कसैले देखेका छैनौँ ! यसर्थ, दु:खको घडीमा प्रकट हुने यस्ता बाणीले हामीलाई आत्मशान्ती मिल्नुका साथै शोकाकुल परिवारलाई सान्त्वना भने अवश्य मिल्दछ ।

हामी अन्तरहृदय देखि नै मृतकको अमरत्व देख्ने सदिच्छा राख्छौँ भने उनले गरेका सत्कर्मको स्मरण र चर्चा गर्नु आवश्यक हुन्छ । त्यसैले आउनुस्, युवराज केसी र वहाँका  योगदानको वारेमा केहि कुरा गरौँ ।

समग्र नेपालको सन्दर्भमा उहाँ एक सर्वसाधारण नै हो तर आफ्नो क्षेत्र र पेरिफेरीमा वहाँ  पुरानो राजनीतिक कर्मी भएकोले सरल स्वाभाव,आत्मीय सम्वन्ध र जिम्मेवारी पुर्ण व्यवहारले अभ्यस्त पनि हुनुहुन्थ्यो ।

अपरिहार्य सामाजिक रुपान्तरण र समुदायको जीवनमा आधारभुत परिवर्तनको पक्षपाती पनि हुनुहुन्थ्यो । सधैँ यस्ता बिषयमा चिन्तित रहनु हुन्थ्यो ।

हार्दिक श्रद्धान्जली

समाजको चरित्र बुझेको अगुवा अभियन्ताको रुपमा आफुलाई आत्मसात गर्नु भएको थियो । त्यसैले होला रोगले गाँजेको कठोर अवस्थामा पनि कहिल्यै आफुलाई बिचलित गराउनु भएन । बरु उपचारको क्रममा रहेका सयौँ मृगौला पिडित सँगको समन्वय, समस्याको पहिचान र निराकरणका निम्ति सरकार र सम्बन्धित पक्षलाई सुझाव दिने काममा लागि रहनु भयो ।

अझै स्मरणयोग्य कुरा के छ भने, एक दिन मसँग वहाले भन्नु भएको थियो – ‘हेर्नुस्, मेरो शरीरमा धेरै रोगले गाँजेको छ । कमाएको सम्पति उपचारको क्रममा नेपालदेखि भारत सम्मका अस्पतालमा चढाइयो ! ऐले मेरो स्वास्थमा केहि सुधार त आएको छ तर उपचारले पुर्णता पाएको छैन।’

उहाँ भन्नुहुन्थ्यो- ‘तै पनि, मुलुकमा जनताको बहुमतको सरकार बनेको छ । केही जनमुखी काम होलान भन्ने विश्वास छ । हाम्रो यो समस्या जल्दो बल्दो समस्या भएकोले केहि सहज नीति बन्ला भन्ने लागेकोले बाँच्ने आशा पलाएको छ ।’

अझ अगाडि उहाँको भनाई थियो- ‘प्रधानमन्त्री नै किड्नीको विरामी हुनुहुन्छ । वहाँले यो सामुहिक पिडामा मल्हम लगाउने निर्णय लिनुहुन्छ भन्ने कुरामा विश्वास लिएको छु । देशमै मृगौला फेर्न सकिन्छ भन्ने कुरामा आशावादी भएको छु ।’
अन्त्यमा वहाँले ठट्टा गर्दै थप्नु भयो – ‘म पनि सरकारसम्म संदेश पुर्याउन कोशिस गर्दैछु । तपाईँहरुले पनि पुर्याइदिनुस् कि ऐले डायलोसिसमा रहेका सयौँ विरामी देश भित्रै सहज र सरल ढंगले मृगौला प्रत्यारोपण गर्न चाहन्छन् । तर, सबैलाई मृगौला दान दिने भान्जीहरु छैनन् ! निसर्त मृगौला दिएर गुन लगाउन चाहने दिव्यआत्माहरु धेरै छन् ! तर, भान्जा भान्जि र आफन्त चिन्ने हाम्रो कानूनले उनिहरुलाई चिन्दैन । ति दिव्य आत्माहरु लाई  समेत चिन्ने नीति बनाएर थिती बसाउने कुरामा पहल गरिदिनुस् है !’

प्रधानमन्त्रीज्यू, जीवनको अन्तिम घडीसम्म युवराज केसीले चाहेको सरल उपचार बाटो खोल्न सकिन्छ की ?

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com