हराएको खसी ‘युट्युब सेना’ले खोज्ने, ‘फेकिङ फोर्स’ले थाल्यो ‘अपरेसन पाठी’ !

प्रकाशित मिति: २९ फाल्गुन २०७७, शनिबार १३:३३


झापा, दमकबाट हराएको खसी र उसकी पाठी साथी खोज्न ‘युट्युब सेना’ परिचालित हुने भएको छ । ‘हाम्रो ‘फेकिङ फोर्स’ युनिटको कमाण्डमा ‘अपरेसन पाठी’ शुरु हुँदैछ ।’ -फोर्सका कमान्डर युट्युबराज फेकुरेलले भने ।

युट्युबमा तीललाई पहाड बनाउने, पहाडलाई पोखरी बनाउने, बेला न कुबेला क्यामेरा तेर्स्याएर सर्वसाधारणको सातो खाने, जवर्जस्ती ईन्टरभ्यु लिएर निर्दोष मान्छेको हुर्मत लिने, बनेको घरलाई भत्काउने, भत्केकालाई सिध्याउने, ईमान्दारलाई एम्बुसमा पार्ने, खराबलाई रेस्क्यु गर्ने, सोझोलाई बंग्याउने, बाङ्गोलाई नंग्याउने, मरेकालाई चिहानबाट खोतल्ने, बाँचेकालाई ज्युँदै आर्यघाट पुर्याउनेजस्ता ‘बहादुरी’मा युट्युब सेनाको ‘फेकिङ फोर्स’ गर्दै आएको थियो ।

तर, पछिल्लो दिनमा फोर्सका ‘फेक अपरेसन’हरुको ‘फ्याक्ट चेक’ थाल्यो । सही र गलत छुट्याउ शुरु भयो । उसका ‘टाईटल गन’ भुत्ते हुनथाले । ‘थम्बेल बम’हरु पड्किन छोडे । ‘हाईलाईट हतियार’ खिया लाग्न थाल्यो । त्यसपछी फोर्सको आम्दानी ह्वात्तै घट्न थाल्यो ।

‘अपरेसन पाठी’ले आफ्नो गुमेको साख फिर्ता हुने विश्वास ‘फेकिङ फोर्स’ले लिएको छ । यो अपरेसनमा आफ्नो सम्पुर्ण फंण्डा प्रयोग गर्ने फोर्सले जनाएको छ । खसीका साथीभाईसंग भेट्ने, पाठीको परिवारसंग अन्तर्वार्ता लिने, खसी-पाठीको सम्बन्धको अनुसन्धान गर्ने, दुबैको बानी ब्यहोरा बुझ्ने, खसीका बाबू आमाको बाईट लिने, खसीको सेक्सुअल नेचर बुझ्ने, पाठीको मनोविश्लेषण गर्ने, सेकुवा सेन्टरहरुमा छापा मार्ने, आन्द्राभुँडीकाे भिसेरा परिक्षण गर्नेसम्मका काम यो फोर्सले गर्नेछ ।

गजुरीयल डटकमसँग फेकिङ फोर्सका कमाण्डर युट्युबराज फेकुरेलले प्रष्ट पारे – ‘यदी कसैले खसी काटेर खाईसकेको रहेछ भनेपनी ती मान्छेको पेटभित्र क्यामेरा घुसाएर सत्य तथ्य छेराएरै छोड्छौँ ।’
गजुरीयल डटकमका लागि गनोज मजुरेलको रिपोर्ट

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com