म्याकबुक मन्त्रीसँग हाईटेक अन्तर्वार्ता, भन्छन्- ‘चले चल्ला, नचले अण्डा !’

प्रकाशित मिति: १३ श्रावण २०७५, आईतवार ०६:२५

 

(१ लाख ४६ हजार पर्ने ‘म्याकबुक-प्रो’ हात परेपछि हाम्रो मन्त्री परिषद् हाईटेक भएको छ । हाईटेक मन्त्री परिषद्का मन्त्रीहरुचाहीं कति हाईटेक होलान् ? यस बिषयमा हामीले एक मन्त्रीसँग कुराकानी गरेकाछौं । नाम नबताउने शर्तमा उनले आफ्नो म्याकबुक अनुभव यसरी सुनाए….)

 

 

मन्त्रीज्यू, नमस्कार ।

(म्याकबुक हातमा लिंदै) म्याकस्कार ।

 

म्याकस्कार ! मैले त नमस्कार भनेको हजुर ।

म्याकस्कार भनेको पनि नमस्कार नै हो, हाईटेक नमस्कार । कागजलाईज्डलेमात्र नमस्कार भन्ने हो । डिजिटलिकरण भएपनिको अभिवादन म्याकस्कार हुनुपर्छ भन्ने मेरो ठम्याई हो ।

 

‘कलम चलाउन जान्दैन, म्याकबुकको फुर्फुर्’ भन्ने आरोप नि ?

म्याकबुक भनेकै कलम चलाउन नजान्नेकालागि हो । यसमा औंला चलाए पुग्छ ।

 

हामीलाई किन म्याकबुक नै चाहियो, जबकि अमेरिका, बेलायतको मन्त्री परिषद्मा अहिलेपनि कागजकै प्रयोग हुन्छ ?

उनिहरु त हात, मुख, मलद्धार सबै पुछ्न कागज नै प्रयोग गर्छन् । के हामीले पनि त्यसै गर्नु पऱ्यो त !

 

तपाईंलाई थाहा छ, म्याकबुकमा यस्तो सफ्टवेयर राखिएको छ जसमा तपाईंले टाईप गरेको बिषय, सुचना सबैभन्दा पहिले एप्पल हेड क्वाटर, अमेरिकामा पुग्छ ?

यदि त्यस्तो हो भने म्याक अफ् गरेर बुकमा मात्रै टाईप गर्छौं । अनि कसरी पुग्दो रहेछ सुचना, हामी पनि हेर्छौं !

 

तपाईंको हातमा भएको ‘म्याकबुक–प्रो’को मूल्य कति हो, थाहा छ ?

थाहा छ । जाबो १०००–१५०० डलर !

 

अर्थात् झण्डै डेढलाख रुपैंया ! यति महँगो चाहिन्थ्यो त ?

कोर्षबुक हो र डेढ–दुई सयमा आउने ! मायकबुक हो, बोल्न पनि मिल्ने । परिहाल्छ नि डेढ–दुईलाख ।

 

पहिलो पटक म्याकबुक हात पर्दा तपाईंको मनमा के भाव आयो ?

मैले त ठानेको थिएँ, ‘मार्क्सको प्रोग्रेसिभ बुक‘ नै म्याकबुक–प्रो हो । कम्प्युटरको बच्चा पो रहेछ । अचम्म लागि रहेको छ †

अहिले कस्तो लागि रहेको छ ?

बाँदरको हातमा नरिवल र मन्त्रीको हातमा म्याकबुक उस्तै हुने त हैन ? यही शंकाले लंका जलाई रहेको छ ।

 

‘रातो पासपोर्टको दुरुपयोग गरेजस्तै यो ‘कालो कम्प्युटर’पनि बेचेर खाने हैनन् ?’ जनता यस्तो प्रश्न गर्छन् । तपाईंको उत्तर के छ ?

तपाईं ढुक्क हुनुहोस्, हामीलाई म्याकबुक बेचेर खानु छैन । खाएर बेचियो भने त्यो अर्कै कुरा हो ।


तपाईंले यस अघि कुन कम्प्युटर चलाउनु हुन्थ्यो ?

(सोच्दै) अँ, एप्पलको सामसुङ भन्ने होला सायद !

 

एक लाख छयालिस हजारको म्याकबुक पाउनु भयो, खुशी त पक्कै हुनुहुन्छ होला ?

म के खुशी, म भन्दा मेरो छोरो, छोरी र सालीहरु खुशी छन् । ‘मन्त्रीको म्याकबुकमा जन्तीको हिं हिं’ भन्दै तिन दिनदेखि निदाएका छैनन् ।

 

म्याकबुक पाएपछि पहिलो काम के गर्नु भयो ?

सबैभन्दा पहिले त हेर्ने काम भयो । त्यसपछि चलाउन खोजियो । यता छोयो उता पिलित्त, उता छोयो यता सुलित † अहिले त केटाकेटीले कता पुऱ्याए, दर्शन पाएकै छैन ।

 

अन्त्यमा, मन्त्री परिषद्लाई डिजिटलाईज्ड गर्ने सरकारको प्रयास राम्रो छ । तर दिर्घकालसम्म चल्ला ?
चले चल्ला, नचले अण्डा !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com