तनहुँको उद्घाटन लीला : ब्यास ऋषिका सामुन्ने ‘श्रीरामचन्द्रजी’ र ‘श्रीकृष्ण’ मुठभेड, कलियुग आउने संकेत ! Kada Kura

प्रकाशित मिति: १८ मंसिर २०७७, बिहीबार १३:१९

हिजो तनहुँको ब्यास नगरपालिकामा जुन ‘उद्घाटन अभ्यास’ भयो, त्यो नेपालको ईतिहासमा ‘महा–रामायण काण्ड’को रुपमा कुरुप भएर सम्झिईनेछ । ‘महा–रामायण’– रामायण र महाभारतको संयुक्त कथा हो । यो त्रेता र द्धापरयुगको मिलनयुग हो ।

केही बिष्लेषकहरु यो ‘काण्ड’को पछाडी जिल्लाको नाम नै कारक रहेको कुरा गर्छन् । ‘तँ नहु, म मात्र हुन्छु= तनहुँ’ भएकाले यहाँ यस्ता घटना भैरहन्छन् भन्ने उनिहरुको मनगढन्ते तर्क छ । तर, गजुरीयल बिश्लेषकको बुझाईमा ब्यास नगरको यो काण्ड ‘महा–रामायण’ नै हो ।

‘महा–रामायण’को कथा यस्तो छ:– बुल्दीखोला भन्ने पवित्र नदीको कज–वे निकै अघि बाढीले बगायो । आवात जावत गर्न ठुलो समस्या परेपछि स्थानीय जनताले ब्यास ऋषिसामु बिन्ती बिसाए । ऋषिको लामो जप र जनताको तपपछि एकदिन उक्त खोलामा बलियो पुल बन्यो ।

‘तनहुँ’ ब्यास ऋषिको पवित्र साधनास्थल हो । तर,  त्रेतायुगका ‘श्रीरामचन्द्रजी’ र द्धापरयुगका ‘श्रीकृष्णजी’ दुबैले आ-आफ्नो ‘क्रिडास्थल’  भएको दाबी गर्दै आएका थिए । पुलको उद्घाटनपनि आफुले गर्ने जिद्धि दुबैजना ‘युगपुरुष’हरुले गरिरहनु भएको थियो ।

सबैलाई थाहा भएकै कुरो हो, ‘श्रीरामचन्द्रजी’ त्रेतायुगिन ‘महापुरुष’ हुनुहुन्छ, युगले अग्रज र उमेरले पनि जेष्ठ पुरुष । यसअर्थमा पनि ‘पुलुद्घाटन’ आफ्नै बाहुलीबाट हुनुपर्ने उहाँको दाबी थियो ।

उता द्धापरयुगका ‘श्रीकृष्णजी’ पछाडी हट्ने कुरै भएन । युगपनि आफ्नो र सरकारपनि आफ्नै थियो । त्यसैले पुलको उद्घाटन आफ्नो शुर्दशन चक्रद्धारा गर्ने योजना उहाँको थियो ।

जसै ‘रामचन्द्रजी’ बाँनरसेनाको साथमा पुल उद्घाटनतिर लाग्नु भयो, तसै ‘श्रीकृष्णजी’ले पाण्डवसेनालाई आदेश दिंदै भन्नु भो , ‘यदा यदा हि पुलस्य, ग्लालिर्नभवती रामचन्द्र, अभ्युत्थानं प्रहरीस्य, तत्कालं कऱ्याप्झ्यापं ।’ त्यसपछि बयोबृद्ध रामचन्द्रजीलाई ‘अर्जुनसेना’ले ठाउँको ठाउँ कऱ्यापझ्याप पाऱ्यो । अनि, ‘महा–रामायण’को पहिलो अध्याय समाप्त भयो ।

दोश्रो, तेश्रो अध्याय कसरी बढि रहेको छ, त्यो तपाईंहरुले बुझिरहनु भएको होला । तर, ‘रामचन्द्र’ र ‘श्रीकृष्ण’जस्ता ‘युगपुरुष’हरुलाई पनि उद्घाटनको लोभ किन लाग्या होला ? जनताले सामुहिक प्रयोग गर्ने पुल कुनै ‘साझा नागरिक’का हातबाट उद्घाटन गऱ्या भए कति राम्रो हुन्थ्यो ! दुबै ‘युगपुरुष’हरुलाई ‘कैंची चलाउने’ नशा चढेकै भए पनि संयुक्त रुपमा ‘रिबन काटेको’ भए हुन्थ्यो ! उद्घाटनजस्तो सामान्य बिषयमा यत्रो ‘महा-रामायण’ मच्चाएर ‘कलियुग’ ल्याउन खोज्नु भएको हो ? कि, ‘लोकतन्त्र युग’प्रति जनतामा निराशाको बिउ छर्न लाग्नु भएको हो ? योचाहीँ मैले नबुझेको कुरा हो ।  तपाईंहरुले बुझ्नु भो कि !!

*डिस्क्लेमर
यस शिर्षकमा प्रकासित ‘हेडलाईन’हरु बिभिन्न अनलाईनबाट साभार गरिएका हुन् । अनलाईन खबर, ननलाईन खबर, रातोपाटी, सेतोपाटी, बाह्रखरी, तेह्रथरी, बिबिसि, सिबिसि, पहिलोपोष्ट, दोश्रोपोष्ट, अन्नपुर्ण पोष्ट, माछापुच्छ्रे होस्ट, नयाँ पत्रिका, पुरानो कागज, माई संसार डटकम, योर संसार चट्कम लगायत ज्ञात/अज्ञात ‘हेडलाईन श्रोत’हरुलाई धन्यवाद । यहाँ प्रयोग भएका केही तस्वीरहरुपनि विभिन्न अनलाईन तथा सामाजिक संजालबाट साभार गरिएकाले सबैप्रति आभार सहित Thank You Very Much.

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com